स्याङ्जा – पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यस वर्ष मात्र सुन्तला बिक्रीबाट १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
विगतमा कोदो र मकै फल्ने बारीमा थालिएको सुन्तला खेती अहिले उनको मुख्य आम्दानीको स्रोत बनेको छ । विसं २०७५ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका सेनले बगँैचा विस्तार गर्दै हाल ३६ रोपनीमा सुन्तला उत्पादन गर्दै आएका छन् ।
यस वर्ष उनका ३०० बोटमा उत्पादन भएको सुन्तला स्थानीय व्यापारीलाई बोटै ठेक्कामा १५ लाख रुपैयाँमा बिक्री भएको छ । बगँैचामा पुराना ३०० र नयाँ १,०५० गरी जम्मा १,३५० बोट रहेका छन् । नयाँ बोट फल्नेक्रममा रहेकाले आगामी वर्ष आम्दानी अझ बढ्ने अपेक्षा गरिएको छ ।
बगँैचामा स्थानीय जातका सुन्तला र धनकुटाबाट ल्याइएको ‘खोकु’ जातका बोटहरू छन् । उत्पादन भएको सुन्तलाको बजारीकरणमा कुनै समस्या नहुने र स्थानीय तथा पोखरासहितका व्यापारी बगँैचामा नै आउने गरेको सेनले बताए ।
पहिले परीक्षणका रूपमा २५ बोट लगाइ सफल नभएपछि पुनः गोरखाबाट कलमी बेर्ना ल्याएर सुन्तला खेतीलाई निरन्तर अघि बढाएका थिए । ठुलाडिहीका अन्य ३१ घरपरिवार पनि व्यावसायिक सुन्तला खेतीमा लागेका छन् र प्रत्येक घरले एकदेखि १५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।
कोदो र मकैको विकल्पको रूपमा सुरु गरिएको सुन्तला खेतीले अहिले स्थानीय किसानहरूलाई राम्रो आम्दानी दिने मुख्य विकल्प बन्न पुगेको छ ।



