काठमाडौं – पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडकखण्ड आंशिक रूपमा बन्द हुने समयमा मुग्लिन–मलेखु सडकका तीन स्थानमा पहाडको भित्तो काट्ने तयारी गरिएको छ । सडक स्तरोन्नतिका लागि यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दिउँसो दैनिक पाँच घण्टा सवारीसाधन रोकेर काम गरिँदै छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका आयोजना प्रमुख सजना अधिकारीका अनुसार नागढुङ्गा–मलेखु खण्ड बन्द हुँदा सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभिर र धादिङ जिल्लाको खतौडी तथा डाहाकी क्षेत्रमा भित्तो काट्ने कार्य गर्न लागिएको हो ।
उनका अनुसार काठमाडौँतर्फबाट आउने सवारीसाधन रोकिँदा मुग्लिन–मलेखु खण्डमा चाप घट्नेछ । यद्यपि मुग्लिनतर्फ जाने सवारीसाधन रोकेर काम गर्ने योजना नभए पनि नागढुङ्गा–मलेखु बन्द हुँदा चाप स्वाभाविक रूपमा कम हुने भएकाले यही अवसरलाई उपयोग गर्दै आंशिक रूपमा सवारी रोकी भित्तो काट्ने तयारी गरिएको हो ।
तीनवटै स्थानमा करिब ४० मिटर लम्बाइ र ८० मिटर अग्लो पहाडको भित्तो काट्नुपर्ने हुन्छ। हाल सात मिटर चौडाइ रहेको सडकलाई थप दुई मिटर विस्तार गर्ने योजना छ । आयोजना इन्जिनियर विजय दरैका अनुसार सवारी नरोकी भित्तो काट्न सम्भव नहुने भएकाले अहिलेको समय उपयुक्त रहेको हो ।
यसैबीच धादिङको विशालटार क्षेत्रमा आइतबारदेखि कालोपत्र सुरु गरिएको छ। क्रमशः अन्य स्थानमा पनि कामलाई तीव्रता दिइने आयोजनाले जनाएको छ । साथै, सो सडकका चार पुलको पहुँच मार्ग निर्माणको काम सुरु गरिएको छ भने नाला निर्माण तथा संरचना मजबुत बनाउने कार्य अघि बढाइएको छ ।
३८ दशमलव ८६ किलोमिटर लामो यस खण्डमध्ये हालसम्म करिब ८ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको छ र थप ५ किलोमिटरका लागि अन्तिम तयारी गरिएको छ। हालसम्म सडक स्तरोन्नतिको काम करिब ३५ प्रतिशत सम्पन्न भएको इन्जिनियर दरैले जानकारी दिए ।
यस खण्डमा २ दशमलव २ किलोमिटर छ लेन, ७ दशमलव २ किलोमिटर चार लेन र उकालो–ओरालो भागमा २ दशमलव ३ किलोमिटर क्लाइम्बिङ लेन निर्माण हुने छ। बाँकी खण्ड दुई लेनका हुनेछ ।
वि.सं. २०७९ पुस १५ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको यस आयोजना आगामी पुस १५ मा सकिने भए पनि डिजाइन परिमार्जन र अन्य कारणले म्याद थपको प्रक्रिया अघि बढाइएको छ । शर्मा–जेडआइसिजी कम्पनीले करिब ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ठेक्का लिएको हो ।
विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक काठमाडौँ प्रवेश र बाहिरिने मुख्य नाकाका रूपमा रहेको छ। सवारीको उच्च चाप, निर्माण सामग्रीको अभाव र मौसमका कारण काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।



