सिरहा – मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोग गर्दै औपचारिक रूपमा सेवा सुरु गरेको छ । बिहीबारदेखि नगरपालिकाले उक्त भवनबाट प्रशासनिक तथा सेवामूलक कार्य सञ्चालनमा ल्याएको हो ।
जेनजी आन्दोलनका क्रममा मिर्चैया बजारमा रहेको नगरपालिकाको कार्यालय भवन पूर्ण रूपमा जलेर ध्वस्त भएपछि नियमित सेवा प्रवाहमा समस्या देखिएको थिया े। नगरपालिकाको कार्यालय कामै नलाग्ने गरी क्षतिग्रस्त भएपछि तत्काल वैकल्पिक व्यवस्था गरिएको नगर प्रमुख श्रवणकुमार यादवले जानकारी दिए ।
नगर प्रमुख यादवका अनुसार दुःखद र विषम परिस्थितिबीच पनि नगरपालिकाले सेवा निरन्तरताका लागि सम्भावनाको खोजी गरेको हो। “कार्यालय जलेपछि केही समय अन्योलमा प¥यौँ, तर अस्पतालको यो पुरानो भवन उपयोगी देखियो,” उनले भने,“यो भवन पुरानो नगर कार्यालयभन्दा फराकिलो र व्यवस्थित छ ।”
नयाँ भवनमा अस्पताल स्थानान्तरण भएपछि प्रयोगविहीन अवस्थामा रहेको उक्त भवनलाई सरसफाइ, सामान्य मर्मत सम्भार तथा रंगरोगन गरी अस्थायी कार्यालयका रूपमा सञ्चालन गरिएको हो ।
हाल नगरपालिकाको नियमित कामकाजमा अवरोध नआओस् भन्ने उद्देश्यले एउटै कोठाबाट दुईवटासम्म शाखा तथा फाँट सञ्चालन गरिएको नगर प्रमुख यादवले जानकारी दिए । उनका अनुसार एकतले भवनमाथि ट्रस हालेर थप कोठा निर्माण गर्दै कार्यालय विस्तार गर्ने योजना पनि अघि बढाइएको छ ।



