म्याग्दी — चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सम्पन्न भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डसम्मको १६ किलोमिटर ५०० मिटर सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र तथा ढलान गर्ने गरी आर्थिक वर्ष २०७३÷७४ देखि योजना सुरु गरिएको थियो। शर्मा–गजुरमुखी जेभीले भेरियसन अर्डरसहित ६३ करोड रुपैयाँमा ठेक्का लिएको यस खण्डमा पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटरबाहेकको सडकमा कालोपत्र र ढलानको काम सकिएको हो ।
आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेका अनुसार दुई किलोमिटर ५०० मिटर सडक ढलान गरिएको छ भने १० किलोमिटर ७०० मिटरमा डिबिएसडी प्रविधिको कालोपत्र भएको छ । “प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो र नदीजन्य निर्माण सामग्रीको अभावका कारण योजना निर्माणमा ढिलाइ भयो,” उनले भने,“स्तरोन्नति सकिएको सडक औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा छ ।”
लक्ष्यभन्दा करिब पाँच वर्ष ढिलोगरी आयोजना सम्पन्न भएको हो । गजुरमुखी निर्माण सेवा आन्तरिक समस्यामा परेपछि साझेदार शर्मा निर्माणले बाँकी काम पूरा गरेको आयोजनाले जनाएको छ। पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर र ठाडोखोला खण्डमा भने नयाँ ठेक्कामार्फत काम अघि बढाइएको छ।
कडा चट्टान र साँघुरो भूगोल रहेको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरी सडक फराकिलो बनाइएको छ। नागढुङ्गा, जलथले, गुइँठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्र सम्पन्न भएको छ ।
सडक स्तरोन्नति भएपछि तातोपानी–घाँसा खण्डमा यात्रा समय दुई घण्टाबाट झरेर करिब ३० मिनेटमा सीमित भएको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले बताए । उनका अनुसार सडक सहज भएसँगै मुस्ताङ आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, स्थानीयवासी तथा कोरला नाकाबाट सामान आयात–निर्यात गर्ने मालवाहक सवारीसाधनलाई ठूलो राहत पुगेको छ ।
शर्मा–गजुरमुखी जेभीले यसअघि बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत तेस्रो खण्ड घाँसा–कैह्कुखोला–खन्तीको १६ किलोमिटर सडक पनि स्तरोन्नति गरेर दुई वर्षअघि नै हस्तान्तरण गरिसकेको छ ।
भारत र चीन जोड्ने ४३५ किलोमिटर लामो कालीगण्डकी करिडोरलाई गण्डकी प्रदेशको ‘लाइफलाइन’का रूपमा लिइएको छ। १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत हालसम्म ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा सडक पुल निर्माण सम्पन्न भएको छ । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार हालसम्म आयोजनामा ८२ प्रतिशत अर्थात् करिब ८ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ।



