चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा हुँदै

काठमाडौँ – चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम तयारी पूरा भएको छ । काठमाडौँ उपत्यकाभित्र चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्रम मुक्त स्थानीय तह’ बन्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीका अनुसार आगामी हप्ता आयोजना हुने विशेष समारोहमार्फत वडा नम्बर १२ सहित सम्पूर्ण नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिनेछ । यस सम्बन्धमा बुधबार नगरप्रमुख गिरीको अध्यक्षतामा सामाजिक समितिको बैठक बसेको थियो ।

नगरपालिकाका १५ वडामध्ये हालसम्म वडा नम्बर १२ बाहेक सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकिएको छ । विसं २०७९ असार २ गते ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित वडा नम्बर १४ लाई पहिलो ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो ।

त्यसपछि क्रमशः विसं २०८० असोज ४ मा वडा ३, फागुन २७ मा वडा ८, चैत २१ मा वडा ६, चैत २३ मा वडा ७, चैत ३० मा वडा ५, विसं २०८१ भदौ २९ मा वडा ११, असोज ५ मा वडा १०, माघ १० मा वडा ९, माघ २५ मा वडा २, फागुन १८ मा वडा ४, विसं २०८२ जेठ ३० मा वडा १५, भदौ १३ मा वडा १३ र भदौ १५ मा वडा १ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो ।

चालु आर्थिक वर्षभित्र सबै वडालाई बालश्रममुक्त बनाउने लक्ष्य तय गरिएको भए पनि लक्ष्यअगावै उक्त कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख गिरीले बाल संरक्षण र बाल अधिकार सुनिश्चित गर्दै बालमैत्री वातावरण निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।

‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५)’, ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’, बालश्रम (निषेध तथा नियमन) ऐन २०५६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विभिन्न कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

चन्द्रागिरि–१५ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणाका लागि आवश्यक सूचक पूरा गर्दै वडाहरूलाई बालश्रममुक्त बनाउँदै लगिएको बताए । उनले दिगोपन र निरन्तरताका लागि निरन्तर अनुगमन र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठका अनुसार नगर कार्यपालिका, सरकारी कार्यालय, विद्यालय, बालक्लब, सङ्घसंस्था तथा उद्योग व्यवसाय क्षेत्रको संयुक्त प्रयासका कारण नगरपालिका यस चरणमा पुग्न सफल भएको हो ।

यसअघि देशभर छ वटा स्थानीय तह मात्र ‘बालश्रम मुक्त’ घोषणा भएका छन् । नगरपालिकाको कार्यक्रममा बाल विकास समाज, वल्र्ड भिजन इन्टरनेशनल नेपाललगायत संस्थाले सहयोग गरेका थिए ।

अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका करिब ११ लाख बालबालिका बालश्रममा संलग्न छन् ।