पोखरा – गण्डकी प्रदेशमा प्रसूति केन्द्रको सङ्ख्या ३६४ पुगेको छ । प्रसूति केन्द्रको विस्तारसँगै असुरक्षित तरिकाले घरमै सुत्केरी हुने क्रम उल्लेख्य रूपमा घट्दै गएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार केसीका अनुसार प्रदेशमा घरमै सुत्केरी हुनेको सङ्ख्या वार्षिक २०० भन्दा कम रहेको छ । उनका अनुसार प्रदेशभित्र शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध अस्पताल १८ वटा रहेका छन् भने जटिल अवस्थाका सुत्केरी गराउने स्वास्थ्य संस्था ५२ वटा छन् । मनाङबाहेक सबै जिल्लामा शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध रहेको उनले जानकारी दिए ।
प्रसूति केन्द्र सुदृढीकरणका लागि आवश्यक औजार तथा उपकरणको व्यवस्था, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा वार्षिक करिब २४ हजार महिलाले शिशु जन्माउने गरेका छन् । वर्षमा हुने करिब ३६ हजार गर्भवतीमध्ये झण्डै १२ हजारले गर्भपतन गराउने गरेको अनुमान गरिएको छ ।
कुल गर्भवतीमध्ये करिब चार हजार महिला काठमाडौँ, पोखरा, चितवन, पाल्पालगायतका स्थानमा सुत्केरी हुने गरेको डा. केसीले बताए । घरमै हुने प्रसूतिलाई शून्यमा झार्दै ‘पूर्ण संस्थागत प्रसूति’ सुनिश्चित प्रदेश घोषणा गर्ने लक्ष्य प्रदेश सरकारले लिएको उनले जानकरी दिए ।
पछिल्लो नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) अनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुने दर ८९ प्रतिशत पुगेको छ । प्रसूति केन्द्रको थप सबलीकरण, जनचेतना अभिवृद्धि, स्वास्थ्यकर्मीलाई नियमित तालिम, उपकरणसहित पर्याप्त स्रोतसाधनको व्यवस्था गर्न सके छिट्टै गण्डकी प्रदेशलाई ‘पूर्ण संस्थागत प्रसूतियुक्त प्रदेश’ घोषणा गर्न सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
मातृ तथा नवशिशु मृत्युदर न्यूनीकरणका लागि प्रदेशका सबै जिल्लामा सेवा विस्तार गर्दै मातृ–शिशु मृत्युदरको नियमित निगरानी गरिने मन्त्रालयले जनाएको छ । साथै संस्थागत सुत्केरी प्रवद्र्धन, ‘सिमुलेसन बेस्ड मेन्टरसिप’ कार्यक्रम, रणनीतिक स्थानमा प्रसूति प्रतिक्षा गृह स्थापना तथा ग्रामीण भेगमा अल्ट्रासाउण्ड सेवा विस्तार गर्ने योजना प्रदेश सरकारले अघि सारेको छ ।



