रघुगङ्गाको दुवारीमा केन्द्रीय प्रशारण लाइनको बिजुली

म्याग्दी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुवारीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । भौगोलिक रूपमा विकट र दुर्गम मानिने दुवारीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेसँगै स्थानीयवासी उत्साहित भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा वितरण लाइन विस्तार तथा ट्रान्सफर्मर चार्ज गरिएको हो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार मुख्य तथा शाखा लाइनका पोल गाड्ने, ११ केभी क्षमताको तार तान्ने र ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गर्ने काम सम्पन्न भइसकेको छ ।

प्रसारण लाइनको परीक्षण तथा ट्रान्सफर्मर चार्ज सम्पन्न भइसकेको र मिटरबक्स जडान तथा घरभित्रको वायरिङ पूरा भएपछि घरघरमा केन्द्रीय लाइनको विद्युत् बल्ने गामीले बताए । दुवारी, ढाँड र पात्लेखर्कमा करिब ९० घरपरिवारको बसोबास रहेको छ ।

वडाध्यक्ष गमान छन्त्यालका अनुसार हालसम्म यहाँका बासिन्दाले लघु जलविद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् प्रयोग गर्दै आएका थिए । केन्द्रीय प्रसारण लाइन पुगेपछि नियमित, भरपर्दो र क्षमतावान् विद्युत् सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने उद्देश्यले आर्थिक वर्ष २०८०/८१ देखि रु २२ करोड बजेटको योजना कार्यान्वयन गरिरहेको छ । सोही योजनाअन्तर्गत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं–४ ओखरबोटका छ सय घरधुरी, च्युरीबोटका करिब १००, धवलागिरि गाउँपालिकाको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।

यसैगरी, तीन सय ७० घरपरिवार रहेको लुलाङमा गत जेठमा, १५० घरपरिवार बसोबास गर्ने मल्कवाङ र १५० घरपरिवार रहेको महभिरमा गत मङ्सिर महिनामा ट्रान्सफर्मर चार्ज भइसकेको छ ।

म्याग्दी–१ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले यो ठेक्कामार्फत धवलागिरि गाउँपालिका–१ को गुर्जाबाहेक अन्य सबै बस्तीमा केन्द्रीय विद्युत् सुविधा पुग्ने बताए । उनका अनुसार धवलागिरि गाउँपालिका–४ का खिवाङ, चेचुङ, नाउरा, बगर, सिम्कोश र नेरवाङमा पनि विद्युत् विस्तारको काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ ।