भोजपुर, – भौगोलिक विकटताका कारण नगरपालिका केन्द्रसम्म पुग्न कठिनाइ भोग्दै आएका नागरिकलाई लक्षित गर्दै षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता तथा उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नागरिकलाई सहज सेवा प्रदान गर्ने र विकास योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रवाह थालेको हो ।
नगरपालिकाले वडास्तरमै योजना सम्झौता, बैंकिङ सेवा, योजना सञ्चालन विधि, गुणस्तर मापदण्ड, प्रभावकारिता तथा कार्यान्वयनका आवश्यक प्रक्रियासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम लामाले जानकारी दिए । भौगोलिक विकटताका कारण नगर केन्द्रसम्म आउन स्थानीयले भोग्दै आएका समस्यालाई ध्यानमा राख्दै सेवा वडाबाटै सञ्चालन गरिएको उनले बताए ।
नगरपालिकाका १४ वटा वडामध्ये भौगोलिक रूपमा अत्यन्तै विकट वडाका नागरिकलाई प्राथमिकतामा राखी पुस ५ गतेदेखि अभियानकै रूपमा सेवा प्रवाह सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लामाले जानकारी दिए । “सेवालाई सहज र सरल रूपमा नागरिकसम्म पु¥याउने लक्ष्यका साथ अभियान सञ्चालन गरेका हौँ,” उनले भने,“कतिपय वडाका नागरिकलाई नगरपालिकासम्म आउन निकै कठिन हुने भएकाले घरदैलोमै सेवा पु¥याइएको हो ।”
नगरपालिकाबाट सञ्चालन हुने योजनालाई समयमै र प्रभावकारी रूपमा सम्पन्न गराउन अनुगमन तथा कार्यान्वयन प्रक्रियालाई थप कडाइका साथ अघि बढाइने उनले बताए ।
यसैगरी, षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले स्थानीय सरकार भएकाले नागरिकलाई प्रदान गरिने सेवामा सहजता ल्याउन र योजनालाई गुणस्तरीय बनाउने उद्देश्यले वडास्तरमै सेवा प्रवाह गरिएको बताए । भौगोलिक रूपमा ठूलो र विकट क्षेत्र समेटिएको नगर भएकाले सेवाको पहुँच विस्तार गर्न वडास्तरमै कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
नगरप्रमुख सुरेन्द्रकुमार उदासले भौगोलिक विकटताका कारण नगरपालिकाको केन्द्र दिङ्लासम्म आउँदा नागरिकले घण्टौँ यात्रा र ठूलो खर्च व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै यो अभियान सुरु गरिएको बताए । “नागरिकलाई सहज सेवा दिने लक्ष्यसहित वडास्तरबाट सेवा प्रवाह गरिरहेका छौँ,” उनले भने,“यसले समय र खर्च दुवै बचत हुनुका साथै योजनाको कार्यान्वयन र प्रभावकारिता पनि बढ्नेछ ।”
नगरपालिकाले आगामी दिनमा पनि नागरिकमुखी सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ ।



