आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै

काठमाडौं – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत गर्दै आज तमु ल्होसार पर्व भव्य रूपमा मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ। गुरुङ समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाउने गर्छन् ।

तमु ल्होसार सूर्यको किरण र ऋतु परिवर्तनसँग सम्बन्धित पर्व हो । गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस महिनामा यो पर्व मनाउने गरिएको विश्वास छ। त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदाय बसोबास गर्ने क्षेत्रमा सूर्यको ताप पुग्ने भएकाले उनीहरूले माघ र फागुनमा ल्होसार मनाउने परम्परा रहेको जानकारहरू बताउँछन्।

पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन लम्बिँदै रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्त्व रहेको मानिन्छ। यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

तमु ल्होसारको अवसरमा राजधानी काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायको विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गुरुङ समुदायका मानिसहरू परम्परागत तथा सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका छन् । साथै गुरुङ समुदायका मौलिक परिकारहरूको प्रदर्शनीसमेत गरिएको छ ।

यसै अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ । गुरुङ समुदायले सांस्कृतिक नाचगान, भेषभूषा र परम्परागत खानाका माध्यमबाट तमु ल्होसारलाई उल्लासपूर्वक मनाइरहेका छन् ।