नगर प्रहरी र जनप्रनिधिलाई विपद् व्यवस्थापन तालिम

झापा – जिल्लाको मेचीनगर नगरपालिकाका नगरप्रहरी, बारुणयन्त्रका कर्मचारी तथा जनप्रतिनिधिलाई सशस्त्र प्रहरीले विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको छ ।

सम्भावित विपद्को सामना र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले नगरपालिकाको विपद् व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने ३० जनालाई तालिम दिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले विपद्जन्य घटनामा तत्काल प्रथम प्रतिकार्य, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन समुदायको क्षमतावृद्धि आवश्यक रहेको बताए । समुदायको सहभागिता सुनिश्चित गर्दै विपद्जन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले तालिममा सहकार्य गरिएको उनको भनाइ छ ।

तालिमका क्रममा घर, भवन तथा वन क्षेत्रमा आगलागी हुँदा डोरीको सहायताबाट जिपलाइन बनाउने, विभिन्न प्रकारका गाँठो तथा नट तयार गर्ने, साथै बाढी तथा डुबानका बेला उद्धारका लागि ¥याफ्ट बोट बनाउने तरिकालगायतका व्यवहारिक सीप सिकाइएको छ ।

तालिमले नगरपालिकाको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि भई आपत्कालीन अवस्थामा छिटो, सुरक्षित र समन्वयात्मक रूपमा उद्धार तथा व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।