रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

काठमाडौं – आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन भक्तपुरका प्रमुख पर्यटकीय गन्तव्य नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच भरिएका छन् । आन्तरिक पर्यटकको बढ्दो चापसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित बनेका छन् ।

विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको उल्लेख्य उपस्थितिले भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म चहलपहल बढेको छ । केही वर्षयता नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नम्बर ८ सिपाडोलको सङ्गमस्थलमा पर्ने ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् ।

पर्यटन व्यवसायी तथा भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा रातभरि नाचगान र उत्सव मनाउन स्वदेशी पर्यटकको घुइँचो लागेको बताए ।

समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको र सूर्यविनायक नगरपालिका र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका, भक्तपुर नगर र विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

व्यवसायी बकेले भने, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ«े, गौरीशङ्कर, धौलागिरि र लाङटाङजस्ता हिमाल देख्न सकिन्छ । पछिल्लो समय रानीकोट उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षमा होटल खचाखच हुँदा हामी व्यवसायी उत्साहित छौँ ।”

सूर्यविनायक–रानीकोट–आशापुरी र सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्ग, साथै सूर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटो दूरीको पक्की सडकका कारण यहाँ पर्यटक आवागमन सहज भएको छ ।

इतिहास, प्राकृतिक सौन्दर्य र सहज पहुँचका कारण रानीकोटमा १२ महिना पर्यटकको आकर्षण बढ्दै गएको व्यवसायीहरू बताउँछन् । पृथ्वीनारायण शाहले भक्तपुर आक्रमणअघि बनाएको गढी र पछि मल्लकालमा रानीका लागि दरबार निर्माण भएपछि रानीकोट नाम रहन गएको यो क्षेत्र ऐतिहासिक महत्वका साथसाथै दृश्यावलोकनका लागि पनि लोकप्रिय बन्दै गएको छ ।

घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथ र रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले नयाँ वर्षका साथै सार्वजनिक बिदाका दिनमा पनि कोठा पाउन मुस्किल हुन थालेको बताए । पिकनिक, पारिवारिक जमघट, संस्थागत कार्यक्रम तथा एकरात बस्न आउने आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उनीहरूको भनाइ छ ।

उता भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पनि अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो सूर्योदय अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकले होटल भरिभराउ भएका छन् । होटल व्यवसायी तथा होटल चौतारीका सञ्चालक बद्री माकका अनुसार अङ्ग्रेजी नयाँ वर्षमा नगरकोटका होटलमा करिब ५० प्रतिशत विदेशी र ५० प्रतिशत स्वदेशी पर्यटकको उपस्थितिले व्यवसाय फस्टाएको छ ।

सामान्यदेखि फाइभ–स्टार स्तरसम्मका होटल सञ्चालनमा रहेको नगरकोटमा पछिल्लो समय स्वदेशी पर्यटकको चाप बढ्दै गएको छ । नयाँ होटल थपिने क्रमसमेत जारी छ ।

होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले चिसो मौसमका बाबजुद नयाँ वर्षको स्वागत र सूर्योदयको आनन्द लिन पर्यटकको आगमन बढेको बताए । होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछानेले कोरोना महामारीपछि होटल व्यवसाय पुनःउत्थानको आशा जागेको बताए ।

उनले भने, “२५ वर्षदेखि होटल क्षेत्रमा काम गरिरहेको छु । कोरोनापछि व्यवसाय उठ्न गाह्रो होला जस्तो लागेको थियो, तर अहिले नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि नै होटल बुक हुन थालेका छन् । यसले व्यवसायीमा नयाँ आशा र उत्साह थपेको छ ।”