पोखरा — पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएका छन्।
पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्ने उद्देश्यले विवरण दर्ताका लागि सूचना जारी गरेको थियो। त्यसपछि वडा तहबाट प्राप्त निवेदनमाथि दाबी–विरोध र संशोधनका लागि निवेदन माग गरी आवश्यक छानबिन गरिएको थियो।
महानगर प्रमुख धनराज आचार्यका अनुसार प्रारम्भिक विवरणमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन प्राप्त भएका थिए।
छानबिनपछि अन्तिम विवरणमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी गरी कुल ३२५ परिवार भूमिहीन कायम भएका छन्। त्यस्तै, २४२ परिवारलाई अव्यवस्थित बसोबासीको सूचीमा राखिएको छ।
अब जिल्ला समितिमा सिफारिस
वडा तहको सहजीकरण समितिले दाबी–विरोध तथा छानबिनपछि तयार गरेको अन्तिम विवरण वडा समितिसमक्ष सिफारिस गरेको थियो। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमानुसार ग्रहण गरी आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ।
महानगर प्रमुख आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन, भूमिहीन दलित तथा सुकुमबासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।
अन्तिम विवरण टुङ्गो लागेसँगै अब महानगर कार्यपालिकाबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाउने तयारी गरिएको उनले जानकारी दिए ।
“वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुमबासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ,” आचार्यले भने, “हामी कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यका साथ छानबिन र दाबी–विरोधको प्रक्रिया पूरा गरेका छौँ।”
महानगरपालिकाले यसै साता कार्यपालिकाबाट प्रतिवेदनमाथि छलफल गरी जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ। त्यसपछि बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासी तथा अन्य बसोबासीको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।
प्रक्रिया समयमै सम्पन्न भए अर्को सातादेखि बसपार्क क्षेत्रको सुकुमबासी बस्ती स्थानान्तरणको काम अघि बढाउने तयारी रहेको नगरप्रमुख आचार्यले बताए ।
“महानगरपालिकाले सबै सरोकारवाला निकायसँग समन्वय गरेर व्यवस्थित रूपमा स्थानान्तरणको काम अघि बढाउँछ,” उनले भने ।
‘व्यवस्थापनपछि बसपार्क खाली गर्न तयार छौँ’
बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीले पनि निष्पक्ष छानबिन गरी वास्तविक सुकुमबासीको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकासका लागि सुकुमबासी बाधक नबन्ने तर बसपार्क खाली गर्नुअघि आफूहरूको वैकल्पिक व्यवस्थापन हुनुपर्ने बताए ।
“हाम्रो कारणले मात्र बसपार्क बन्न नसकेको होइन। धेरै कारण छन् यसमा। हामी बसपार्क बनाउनका लागि महानगरलाई सहयोग गर्न तयार छौँ। हाम्रो वैकल्पिक व्यवस्थापन पहिला हुनुपर्छ,” गुरुङले भने ।
पाँच दशकदेखि अलपत्र बसपार्क योजना
पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो। योजना बनेको पाँच दशक पुगिसक्दा पनि बसपार्क निर्माण हुन नसक्दा पृथ्वीचोक क्षेत्रको सडकपेटी र फुटपाथबाटै लामो तथा छोटो दूरीका बस सञ्चालन हुँदै आएका छन्।
बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा सुकुमबासी तथा अन्य केही व्यक्तिले अतिक्रमण गरेपछि निर्माण योजना अघि बढ्न सकेको थिएन। पछिल्लो समय महानगरपालिकाले बसपार्कभित्र रहेका व्यापारिक सटर तथा कवलसमेत हटाएको छ।
बसपार्कको जग्गा खाली गरेपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना महानगरपालिकाले सार्वजनिक गरिसकेको छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेसँगै अब बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन र बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढ्ने भएको छ।



