काठमाडौँ – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय पोशाक तथा टोपी दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइएको छ । मौलिक पहिचान, संस्कृति र राष्ट्रिय चेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले मनाइने यो दिवसका अवसरमा विभिन्न सहरमा राष्ट्रिय पोशाक र टोपी लगाएर प्रदर्शन गरिएको थियो ।
यो अभियान विसं २०७० पुस १७ गते काभ्रेपलाञ्चोकको बनेपामा केही युवाको सक्रियतामा सुरु भएको हो । सुरुमा सीमित दायरामा रहेको अभियान पछिल्ला वर्षमा देशव्यापी स्वरूप ग्रहण गरेको छ । हाल यो दिवस राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाललगायत संस्थाको नेतृत्वमा मनाइँदै आएको छ ।
दिवसका अवसरमा पुरुषहरूले दौरा–सुरुवाल र महिलाहरूले गुन्यू–चोली लगाएर सहभागिता जनाएका थिए। पछिल्ला वर्षहरूमा कार्यक्रमप्रति जनसहभागिता उल्लेख्य रूपमा बढ्दै गएको प्रतिष्ठानका अध्यक्ष राजानन्द बजगाईं माण्डव्यले बताए ।
उनका अनुसार पोशाक मात्र होइन, भाषा, भेषभूषा र संस्कृतिसहित सम्पूर्ण मौलिक पहिचानको संरक्षण अभियानको मुख्य उद्देश्य हो । हाल प्रतिष्ठानले करिब चार दर्जन जिल्लामा शाखा विस्तार गरिसकेको जनाएको छ ।
यो वर्ष १३औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको हो। विश्वभर फैलिएका नेपालीलाई समेट्दै दिवसलाई अन्तरराष्ट्रिय स्वरूप दिइएको प्रतिष्ठानले जनाएको छ ।
पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गइरहेको सन्दर्भमा नेपाली मौलिकता जोगाउने चेतनामूलक जागरणका लागि जनवरी १ तारिखमै यो दिवस मनाउन थालिएको प्रतिष्ठानको भनाइ छ। राष्ट्रवादको नारा लगाउनेहरूले नै नेपाली संस्कृतिलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति सचेत गराउन यो दिवस प्रभावकारी हुने विश्वास लिइएको छ ।



