स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउँदै काठमाडौँ महानगर, ‘एक वडा एक उद्यम’ प्रभावकारी बन्दै

काठमाडौं – काठमाडौँ महानगरपालिकाले स्थानीय तथा परम्परागत (रैथाने) उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । महानगरले ताजा तरकारी, अन्न र फलफूललगायत स्थानीय उत्पादन उपभोक्तासम्म सहज रूपमा पु¥याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको हो ।

सुशासन समितिका संयोजक एवं वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीका अनुसार उपभोक्तालाई स्थानीय उत्पादन चिन्न र चिनाउन रैथाने उत्पादनको प्रवद्र्धन आवश्यक भएकाले ती उत्पादनलाई बजारीकरण गर्ने तयारी गरिएको हो । “उत्पादन गरिएका वस्तुको बजारीकरण र प्रवद्र्धनका लागि पहिला वस्तुको पहिचान आवश्यक हुन्छ,” उनले भने,“महानगरका अन्य वडामा पनि स्थानीय सामग्रीको बजारीकरण विस्तार गर्ने योजना छ ।”

स्थानीय उत्पादनको पहिचान र बजारीकरणका लागि काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमूना कार्यक्रम’लाई थप प्रभावकारी बनाउँदै लगेको छ । यस कार्यक्रमअन्तर्गत यस वर्ष वडा नं ११, १९, २०, २३, २५, २८ र ३१ गरी आठ वटा वडामा सीप विकास तालिम सम्पन्न भइसकेको छ भने विभिन्न सामग्री उत्पादनको काम भइरहेको छ ।

महानगरका ३२ वडामध्ये गत वर्ष १५ वटा वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ सुरु गरिएको थियो । यस वर्ष थप आठ वटा वडामा कार्यक्रम विस्तार गरिएपछि हाल २३ वटा वडामा कार्यक्रम सञ्चालनमा रहेको महानगरले जनाएको छ । बाँकी वडामा पनि छिट्टै कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।

महानगरका अनुसार उत्पादनसँगै बजारीकरणको सीप पनि अत्यावश्यक भएकाले उत्पादनको गुणस्तर र परिमाण दुवैमा ध्यान दिइएको छ । यस वर्ष वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ मा विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

यी वडामा ऊनका सामग्री, हाकुपटासी, मरीचरी (मिठाइका परिकार), नेवारी वेशभूषा, धागो, सुर्के थैली, रिबनका फूल, ढाकाका कपडा, माटोका मखुण्डो, बेबी सेट र गाउन, यमरी, फ्रोजन मःम तथा छालाको जुत्ता उत्पादन भइरहेको महानगरले जनाएको छ । उत्पादन भएका सामग्रीको बजारीकरणका लागि प्रत्येक वडामा वडास्तरीय कोसेलीघरसमेत स्थापना गरिएको छ ।