नेपालगन्ज – पछिल्ला केही दिनदेखि परेको बाक्लो हुस्सु र कुहिरोका कारण बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । चिसो अत्यधिक बढेपछि दैनिक गतिविधिमा समेत असर परेको छ ।
कठ्याङ्ग्रिँदो चिसोका कारण बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय तथा ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसो र हुस्सुका कारण स्थानीय बासिन्दा बिहान घरबाहिर निस्कनसमेत सकिरहेका छैनन् । बिहानै खुल्ने पसल तथा बजार ढिलो गरी खुल्ने गरेका छन् भने साँझपख चिसो झनै बढ्न थालेपछि बजार क्षेत्र समयअगावै सुनसान बन्न थालेका छन् ।
बाक्लो हुस्सुका कारण सवारीसाधन सञ्चालनमा पनि समस्या देखिएको छ । नेपालगन्ज–१६ का सवारी चालक रामप्रसाद थारुका अनुसार हुस्सुका कारण दृश्यता कम हुँदा सवारी चलाउन कठिनाइ भइरहेको छ । “सडक देख्न गाह्रो हुन्छ, दुर्घटनाको जोखिम पनि बढेको छ,” उनले बताए ।
चिसो बढेसँगै स्वास्थ्य समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको छ । भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी सङ्केत रिसालका अनुसार दम, निमोनिया, रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । “हिजोआज अस्पतालमा दैनिक १०० भन्दा बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका छन्,” उनले जानकारी दिए ।
चिसो अझै केही दिन कायमै रहने अनुमान गरिएकाले स्वास्थ्यकर्मीहरूले न्यानो कपडा लगाउन, आगो ताप्दा सावधानी अपनाउन तथा बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।



