पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात, चिसो बढ्यो

ताप्लेजुङ — यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा धाम क्षेत्रमा यस वर्ष दोस्रोपटक हिमपात भएको छ। यसअघि यस वर्षको पहिलो हिमपात गत मङ्सिर ६ गते भएको थियो ।

पाथीभरा क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि ३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा क्षेत्रमा विगतका वर्षहरूमा मङ्सिरदेखि नै नियमित रूपमा हिमपात हुने गरेको बताइएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार साँझ पाथीभरा क्षेत्रमा हिमपात भएको हो । हिमपातले धार्मिक क्षेत्र सेताम्य बनेको छ भने चिसो ह्वात्तै बढेको छ ।

यद्यपि, हिमपातका बाबजुद तीर्थयात्रीको सहजताका लागि पदमार्गमा फाइबर ट्रस जडान गरिएको समितिले जनाएको छ । यसले वर्षा र हिमपातको समयमा पनि पाथीभरा धामसम्म पुग्न तीर्थयात्रीलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

समितिले हिमपात र चिसोका कारण तीर्थयात्रीलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।