खोटाङ — साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले करिब सात दशकपछि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । विसं २०१३ फागुन ७ गते जन्मनुभएका उनले पहिलो पटक आइतबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
आफूसँग नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरू शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित हुनुपरेको भन्दै ढिलै भए पनि नागरिकता बनाएको उनले बताए ।
“म १४ वर्षको उमेरमै साथीहरूसँग घरबाट भागेर रोजगारीका लागि भारत गएको थिएँ,” उनले भने, “त्यहाँबाट फर्किएपछि कञ्चनपुर आएर मजदुरी गरेँ, त्यही क्रममा विवाह भयो। अहिले २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी कक्षा–१२ मा पढ्दै छिन्, उसलाई नागरिकता चाहिने भएपछि मैले नागरिकता बनाउन पहल गरेँ ।”
घर छाडेको ५६ वर्षपछि जिल्लामा फर्किनुभएका केशरबहादुरलाई जेठा दाजु मदनबहादुर बुढाथोकीको सनाखतका आधारमा प्रशासनले नागरिकता प्रदान गरेको हो।
“पढाइ लेखाइ नहुँदा नागरिकता बनाएर के गर्ने भन्ने सोच थियो,” उनले भने, “तर नागरिकता नहुँदा छोरीहरूलाई समस्या पर्ने रहेछ। आफूले केही नगरे पनि छोरीहरूका लागि केही गर्नुपर्छ भन्ने लाग्यो ।”
नागरिकता प्राप्त भएपछि केशरबहादुरको परिवारमा नयाँ आशा र खुसी थपिएको उनका भतिज श्यामकुमारले बताए , ।
“सानै उमेरदेखि सम्पर्कविहीन हुनुभएका काका ५६ वर्षपछि घर फर्किए ।” उनले भने, “नागरिकता बनाउन कुनै प्रमाण थिएन। करिब एक हप्ता लगाएर कागजात जुटायौँ। आज नागरिकता पाएपछि काका निकै हर्षित हुनुहुन्छ ।”
नागरिकताको प्रमाणपत्र पाएसँगै श्रीमतीको विवाह दर्ता र छोरीहरूको जन्मदर्ता गर्ने तयारी गरेको केशरबहादुरले जानकारी दिए । विवाहपछि ससुरालीले दिएको जग्गामा घर बनाएर कञ्चनपुरमै बस्दै आउनुभएका उनकी कान्छी छोरी हाल कक्षा–३ मा अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार चेतना अभावका कारण नागरिकता नबनाउँदा जिल्लाका धेरै परिवारमा यस्तै समस्या देखिँदै आएको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले नागरिकता लिनबाट कोही पनि नेपाली वञ्चित नहोस् भन्ने उद्देश्यले आफू सरुवा भएर खोटाङ आएदेखि नागरिकता प्राप्तिको प्रक्रिया सहज बनाइएको बताए, ।



