वीरगञ्ज, पर्सा — जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज दिउँसोदेखि निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीच हुन सक्ने सम्भावित मुडभेड र अशान्तिलाई लक्षित गर्दै प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा कायम रहनेछ । पछिल्लो समय यहाँ विभिन्न समूह र समुदायबीच विरोध प्रदर्शनका कार्यक्रम भइरहेकाले शान्ति सुरक्षा कायम गर्न यस्तो कदम चालिएको उनले बताए ।
निषेधाज्ञा लागू हुने क्षेत्रको सीमा पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावर हाउसचोक र दक्षिणमा शङ्कराचार्यगेट तोकिएको छ । उक्त क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन, भेला, जुलुस तथा धर्ना गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको जानकारी दिँदै आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारे ।
प्रशासनले सर्वसाधारणलाई शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न र आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।



