मेयर बालेन शाहले जाँचबुझ आयोगलाई लिखित जवाफ बुझाए

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटेका घटनासम्बन्धी विषयमा गठित जाँचबुझ आयोगलाई लिखित जवाफ बुझाएका छन् ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले पठाएका प्रश्नहरूको जवाफ मेयर शाहले लिखित रूपमा पेस गरेका हुन्। उनका अनुसार आयोगको बयान लिने प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ ।

पछिल्लो समय आयोगले जेनजी प्रतिनिधिहरूको समेत बयान लिएको थियो। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आइजिपी राजु अर्याललगायतको बयान लिइसकेको छ ।

आयोगले हालसम्म १५० भन्दा बढी व्यक्तिहरूको बयान संकलन गरिसकेको जनाएको छ ।