झापा — नेपालमा उत्पादन हुने छुर्पीको निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा मेची भन्सार कार्यालयअन्तर्गत पूर्वी नाका काँकरभिट्टाबाट निर्यात हुने छुर्पी अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले बढेको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार साउनदेखि मङ्सिरसम्म दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको छ, जसको मूल्य रु ४८ करोड ५२ लाख ७३ हजार पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात हुँदा रु ३६ करोड ७६ लाख २३ हजार आम्दानी भएको थियो ।
यस आधारमा चालु आवमा छुर्पी निर्यातबाट हुने आम्दानी रु ११ करोड ७६ लाख ५० हजारले बढेको भन्सार कार्यालयले जनाएको छ । नेपाली छुर्पी निर्यातका लागि काँकरभिट्टा प्रमुख नाकाका रूपमा रहेको छ भने मेची भन्सारबाट निर्यात हुने प्रमुख १० वस्तुहरूमध्ये छुर्पी चौथो स्थानमा पर्दछ ।
पहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने दुग्धजन्य पदार्थबाट तयार गरिने छुर्पी मुख्यतः युरोप र अमेरिका निर्यात हुने गरेको छ । ती मुलुकमा छुर्पी कुकुर र बिरालोको खानाका रूपमा प्रयोग हुँदै आएको छ ।
नेपाल छुर्पी व्यवसायी सङ्घका महासचिव ऋषि तिम्सिनाका अनुसार देशभर उत्पादन हुने कुल छुर्पीमध्ये करिब ८० प्रतिशत कोशी प्रदेशमा उत्पादन हुन्छ । उनले निर्यातको ठूलो सम्भावना हुँदाहुँदै पनि उत्पादन र बजार विस्तारका लागि सरकारी तहबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे ।


