काठमाडौँ — काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन् । उनले आजदेखि लागू हुने गरी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
नगर प्रमुख शाहले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम राजीनामा दिएको उल्लेख गरेका छन् । पत्रमा उनले नगर प्रमुखको जिम्मेवारीमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितका लागि इमान्दारितापूर्वक काम गर्ने प्रयास गरेको बताएका छन् ।
राजीनामा पत्रमा शाहले आगामी दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह तथा विकास यात्रामा थप सफलता प्राप्त होस् भन्ने कामना समेत व्यक्त गरेका छन्। साथै उनले उप–प्रमुख, सम्पूर्ण नगर कार्यपालिका तथा महानगरवासीप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
नगर प्रमुख शाहको राजीनामापछि काठमाडौँ महानगरपालिकाको नेतृत्व कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो बढेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार अबको प्रक्रिया र कार्यवाहक व्यवस्थाबारे महानगरपालिकाले औपचारिक जानकारी दिने अपेक्षा गरिएको छ ।




