काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता भएसँगै स्थानीय तहका कतिपय जनप्रतिनिधिहरू पदबाट राजीनामा दिँदै उम्मेदवारी दर्ता गरेका छन् । महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराइरहेका छन् ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन् । दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । विसं २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगर प्रमुख निर्वाचित शाह अहिले प्रधानमन्त्री बन्ने आकाङ्क्षासहित सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । यही निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेकाले क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पनि पदबाट राजीनामा दिँदै चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएकी छन् । दुई कार्यकालसम्म भरतपुरको नेतृत्व गरिसेकी दाहाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि पदबाट राजीनामा दिँदै सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारी दर्ता गराएका छन् । विसं २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुनुभएका साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् । उक्त क्षेत्रमा धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष मनोज भट्टराईले पनि पदबाट राजीनामा दिँदै प्रतिस्पर्धा गर्दै छन् । विसं २०७४ र २०७९ मा लगातार दुई पटक वडाध्यक्ष निर्वाचित भट्टराई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हुन् ।
स्थानीय तहका प्रमुख मात्र होइन, वडाध्यक्ष र वडा सदस्यहरू पनि प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाइरहेका छन् । वीरगञ्ज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह कानु राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् । त्यस्तै, वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर (पराग) सिंह उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले दोस्रो कार्यकाल पूरा नगर्दै स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । उनलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो । त्यसैगरी, ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले पनि एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख असिम राईले पनि पदबाट राजीनामा दिँदै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सोलुखुम्बुको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहमा छोटो समय नेतृत्व गरेका जनप्रतिनिधिहरू संघीय संसद्मा पुग्ने लक्ष्यसहित प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । यसले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाएको छ ।



