बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडी जिल्लामा एक हजार ४४२ जना कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका २१४ मतदान केन्द्रमा ती कर्मचारी खटाइने छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले निर्वाचनमा कर्मचारी परिचालनका लागि जिल्लास्थित सरकारी कार्यालयहरूसँग आवश्यक विवरण माग गरिएको जानकारी दिए । उनका अनुसार केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण संकलन गरी खटनपटनको प्रक्रिया अगाडि बढाइनेछ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवारको उम्मेदवारी कायम रहेको छ। जिल्लामा कुल एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा आठ जना कर्मचारी र पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा सात जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ ।
सुरक्षाका दृष्टिले बैतडी जिल्लाका ३३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ मतदानस्थल सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।



