भक्तपुर — मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । सुधारगृहभित्र रहेका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।
झडपको सूचना पाएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि अवस्था नियन्त्रण बाहिर गएको जनाइएको छ ।
स्थिति नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका करिब ५० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । आगलागी मध्यरातमा भक्तपुर र काठमाडौँबाट पुगेका वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थिमि प्रहरी वृत्तले जनाएको छ ।
सुधारगृहमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । हाल उक्त सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी जम्मा १६९ जना रहेका छन् ।
हाल अवस्था नियन्त्रणमा आएको भए पनि कुनै अप्रिय घटना नहोस् भनेर सुधारगृह क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको प्रहरीले जनाएको छ ।



