गोरखामा सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि, किसानको आम्दानी बढ्यो

गोरखा – जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार चालु वर्ष जिल्लाभर तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

एकाइकी सूचना अधिकारी पूजा रेग्मीका अनुसार सुन्तला बिक्रीबाट किसानले करिब २२ करोड रुपैयाँ आम्दानी गरेका छन् । यसका साथै करिब एक करोड ५० लाख रुपैयाँ बराबरको कागतीसमेत बिक्री भएको उनीले जानकारी दिईन् । उनका अनुसार यस वर्ष जिल्लामा १५ देखि २० प्रतिशतसम्म सुन्तला उत्पादन वृद्धि भएको छ ।

“मौसम अनुकूल हुनु र विगतका वर्षहरूमा रोपिएका बोटले यस वर्षदेखि उत्पादन दिन थालेकाले सुन्तला उत्पादन बढेको हो,” सूचना अधिकारी रेग्मीले भनिन् । उत्पादन बढेसँगै किसान उत्साहित बनेका छन् ।

गत वर्ष जिल्लामा जम्मा १ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसअघि आर्थिक वर्ष २०८०÷८१ मा एक हजार ६०० मेट्रिक टन र आव २०७९÷८० मा एक हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्र गोरखाले पनि यस वर्ष सुन्तला उत्पादन बढेको पुष्टि गरेको छ । केन्द्रका सूचना अधिकारी सुमन भट्टराईका अनुसार जिल्लाभर सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको हो । “मौसमको अनुकूलता र किसानको मेहनतका कारण उत्पादन बढेको हो,” उनले भने,। केन्द्रले आम्दानीको विवरण भने नतिजामा राखेको छैन ।

सुन्तला जोन कार्यक्रमले टेवा

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले जिल्लामा सुन्तला जात फलफूल खेतीलाई प्राथमिकताका साथ सघाउँदै आएको छ । कार्यालयले ‘सुन्तला जोन’ कार्यक्रम लागू गरी सुन्तलाखेती प्रवद्र्धन गर्दै आएको छ ।

एकाइ प्रमुख पूर्ण ढुङ्गानाका अनुसार गण्डकी, सहिदलखन, भीमसेनथापा गाउँपालिकाका सबै वडा, गोरखा नगरपालिकाका सबै वडा, पालुङटार नगरपालिकाका वडा नं ९ र १० तथा सिरानचोक गाउँपालिकाका वडा नं २, ४ र ५ लाई समेटेर सुन्तला जोन घोषणा गरी कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

उनका अनुसार बगैँचा व्यवस्थापन, चक्लाबन्दी, क्षेत्र विस्तार, साना सिँचाइ पूर्वाधार निर्माण, उन्नत प्रविधिसहित प्रदर्शनी, साना कृषि मेसिनरी वितरणलगायत कार्यक्रम सञ्चालन गरिँदै आएको छ । सुन्तला जोनबाहेकका क्षेत्रमा करिब १० प्रतिशत उत्पादन हुने गरेको छ ।

पकेट क्षेत्र र खेती विस्तार

गोरखाका गण्डकी, भीमसेनथापा, सहिदलखन, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका तथा उत्तरी गोरखाको धार्चेस्थित कासीगाउँमा सुन्तला खेती हुँदै आएको छ । गण्डकी गाउँपालिकाका ताङ्लीचोक, भुम्लिचोक, फलाटे र फुजेल तथा सहिदलखन गाउँपालिकाका मनकामना, ताक्लुङ, मास्केछाप, तीनमाने र अँधेरीलाई सुन्तलाका पकेट क्षेत्र मानिन्छ ।

त्यस्तै, भीमसेनथापाको तान्द्राङ, पालुङटारको बागडाँडा र शेरा तथा गोरखा नगरपालिकाका ताप्ले, नारेश्वर, फिनाम र भट्टबेँसी पनि सुन्तला उत्पादनका पकेट क्षेत्रका रूपमा चिनिन्छन् ।

जिल्लामा करिब एक हजार ९७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ भने करिब ३०० किसान सुन्तलाखेतीमा आबद्ध छन् । जिल्लाका किसानले खाकु र स्थानीय जातका सुन्तला उत्पादन गर्दै आएका छन् ।