दाङ – तुलसीपुर उपमहानगरपालिका–४ मजुवाकी मुना ओली यतिबेला नौमती बाजा बजाउन निकै व्यस्त छन् । जिल्लामा हुने विभिन्न सभा–सम्मेलन, विवाह, पूजाआजा तथा सांस्कृतिक कार्यक्रममा बाजा बजाउन उनलाई भ्याइनभ्याई छ ।
नौमती बाजा समूहकी सदस्य ओली महिला पनि सीप सिकेर आत्मनिर्भर बन्न सक्ने विश्वासका साथ बाजा बजाउँदै हिँडिरहेकिछन् । “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ,” उनी भन्छिन्, “हामी बाजा बजाएरै पहिचान बनाउँदै अघि बढिरहेका छौँ ।” माग बढ्दै गएपछि उनी अहिले दाङभित्र मात्र होइन, आवश्यकताअनुसार जिल्लाबाहिरसमेत पुग्ने गरछिन् ।
तुलसीपुर–४ रक्षाचौरका विष्णु केसी ले पछिल्लो समय लोप हुँदै गएको नौमती बाजाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आफूहरू बाजा बजाउन लागेको बताईन् । सुरुमा सिक्न कठिन भए पनि अहिले सहज भएको उनको अनुभव छ । “बाजा संरक्षणसँगै केही आम्दानी पनि हुन थालेको छ,” उनी भन्छिन्,“गाउँमा परम्परादेखि बजाइने बाजा लोप नहोस् भनेर महिलाहरू सक्रिय भएका हौँ ।”
तुलसी महिला नौमती बाजा समूहमार्फत अहिले धेरै महिला यसमा आबद्ध छन् । विवाह, व्रतबन्ध, मेलापर्व तथा विभिन्न उत्सवमा नौमती बाजाको विशेष महत्व रहेको समूहकी सदस्य विष्णु केसी बताउछन् । पश्चिमेली संस्कृतिको प्रभाव र युवापुस्ताको चासो घट्दा नौमती बाजा संकटमा परे पनि दाङका महिलाहरू यसको संरक्षणमा जुटिरहेका छन् ।
पहिले ग्रामीण भेगमा सीमित रहेको बाजा बजाउने चलनलाई तुलसी महिला नौमती बाजा समूह ले व्यावसायिक रूपमा अघि बढाएको छ । समूहकी अर्की सदस्य विमला केसी (४४) का अनुसार बाजा बजाउन उनीहरू सल्यान, रोल्पा, प्युठान, बुटवलदेखि नेपालगन्जसम्म पुग्ने गरेका छन् ।
समूहकी अध्यक्ष कस्तुरा खड्का का अनुसार एक दिन बाजा बजाएबापत रु २० हजारदेखि ३० हजारसम्म आम्दानी हुने गरेको छ । “आएको रकमको आधा समूह कोषमा जम्मा हुन्छ, बाँकी सदस्यहरूलाई कामअनुसार रु दुईदेखि तीन हजारसम्म वितरण गरिन्छ,” उनले भने, । चार वर्षदेखि निरन्तर बाजा बजाउँदै आउनुभएकी खड्काले सुरुमा कठिन भए पनि अहिले आत्मविश्वासका साथ प्रस्तुति दिँदै आएको बताए ।
लोपोन्मुख नौमती बाजाको संरक्षण सबैको दायित्व भएको उल्लेख गर्दै उहाँले तुलसीपुर उपमहानगरपालिकाले तालिम तथा विभिन्न सहयोग कार्यक्रममार्फत महिला समूहलाई साथ दिँदै आएको जानकारी दिए ।



