‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी – पोखरा महानगरपालिका क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा संलग्न रहेका छन् । पछिल्ला वर्षहरूमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

महानगरभित्रका वडामध्ये विशेषतः १६, १८, २०, २३, २६, २८, ३० र ३३ नम्बर वडामा मौरीपालन व्यवसायप्रति आकर्षण बढिरहेको उनले बताए । हाल पोखरा महानगर क्षेत्रमा वार्षिक करिब ९० टन मह उत्पादन हुने गरेको र यो मात्रा क्रमशः बढ्दै गएको उनको भनाइ छ ।

शाखा प्रमुख कडरियाका अनुसार महानगर क्षेत्रमा मुख्यतः सेरेना जातका मौरी पाल्ने गरिएको छ । “बजारमा महको माग निरन्तर बढिरहेको छ,” उनले भने,“उत्पादन गर्न सके बजारको समस्या छैन । यस क्षेत्रमा मह उत्पादनको राम्रो सम्भावना रहेकाले मौरीपालन आयआर्जनको महत्वपूर्ण विकल्प बन्ने देखिन्छ ।”

मौरीपालनले मह उत्पादनसँगै अन्य कृषिजन्य उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने उनले उल्लेख गरे । परागसेचनमा सहयोग पुग्ने भएकाले बाली उत्पादन वृद्धि हुने उनको भनाइ छ ।

पछिल्लो समय मौरीपालन व्यवसायलाई व्यावसायिक रूपमा विकास गर्न विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजनामा तथा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको समन्वयमा ६५ दिने मौरीपालक तह–१ तालिम आइतबारदेखि सुरु गरिएको छ ।

पोखरा महानगरपालिका–२६ स्थित लेखनाथ ढलेपिपल कृषि सेवा केन्द्रमा तालिमको सुरुआत गरिएको शाखा प्रमुख कडरियाले जानकारी दिए । तालिममा महानगर क्षेत्रका २० जना अगुवा किसान सहभागी रहेका छन् ।