काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न तथा गराउन सर्कुलर जारी गरेको छ ।
मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको निर्वाचन आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले आ–आफ्नो क्षेत्रमा कडाइका साथ कार्यान्वयन गराउनुपर्ने उल्लेख छ ।
सरकारले २०८२ साल पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आचारसंहिता सार्वजनिक गरेको थियो । निर्वाचन आयोगले अर्को सूचना जारी नगरेसम्मका लागि उक्त आचारसंहिता लागू रहने जनाएको छ ।
यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार गर्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरेको छ । निर्वाचन आचारसंहितामा परिच्छेद १०, अनुसूची ५ तथा दफा ५५ सम्बन्धी प्रावधान समावेश छन् ।



