नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं – काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क र नदीका करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन सुरु गरेको छ ।

महानगरपालिकाका सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार, यो कार्यक्रम अन्तर्गत पुराना र जीर्ण कुर्सीहरूको मर्मत, सम्भार र रङ्गरोगन गरिनेछ, यात्रुको चाप भएका ठाउँमा कुर्सीको सङ्ख्या थपिनेछ, र एकै प्रकारका कुर्सी राखेर एकरूपता कायम गरिनेछ । “उमेर समूह र शारीरिक अवस्थाजस्ता पैदल यात्रुको आवश्यकतालाई सहज बनाउन यो काम थालिएको हो । पुराना कुर्सी हटाउने योजना छैन, साटफेर भने हुन सक्छ,” उनले जानकारी दिए ।

यसै क्रममा सिंहदरबार–भद्रकाली सडकखण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरू मर्मत सुरु गरिएको छ । विभागका अनुसार, यस ठाउँमा दुई प्रकारका कुर्सी थिए, जसलाई मर्मतसम्भार र रङ्गरोगन गरेर यथास्थानमा राखिनेछ ।

काठमाडौँ महानगरपालिकाका सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले संयुक्त रुपमा यो काम गरिरहेका छन्। पहिलो चरणमा, १४० वटा कुर्सी सहरका विभिन्न ठाउँमा राखिएको थियो। हरेक कुर्सी करसहित करिब रु १८ हजार ६५५ पर्ने उल्लेख छ। भद्रकाली–सिंहदरबार सडकखण्डमा ११ वटा कुर्सी राखिएका छन्।

दोस्रो चरणमा ४९ वटा कुर्सी तीनकुने, कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर, बबरमहल, कलपोखरी लगायत स्थानमा राखिने योजना छ। तेस्रो चरण अन्तर्गत १५० वटा कुर्सी प्राप्त हुनेछन्, जसलाई माग र आवश्यकताको आधारमा विभिन्न स्थानमा वितरण गरिनेछ ।

महानगरपालिकाले सार्वजनिक कुर्सी व्यवस्थापनमार्फत पैदल यात्रुका लागि सुरक्षा, सहजता र आकर्षक वातावरण सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएको छ।