काँकरभिट्टा–लौकही एसियन हाइवेमा ३५ प्रतिशत प्रगति

मोरङ – एसियाली राष्ट्रलाई सडक सञ्जालमार्फत जोड्ने उद्देश्यले निर्माण भइरहेको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टा–लौकही सडकखण्डमा दुई वर्षमा करिब ३५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाअन्तर्गत आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिमतर्फ पहिलो चरणको एक लेन कालोपत्र सुरु गरिएको छ ।

एसियन राजमार्ग नम्बर–२ अन्तर्गत पर्ने १२० किलोमिटरमध्ये हाल ९५.७६ किलोमिटर सडकमा ठेक्का लागेर पूर्वी र पश्चिमी खण्डमा विभाजन गरी काम भइरहेको आयोजनाले जनाएको छ । दुवै खण्डमा हालसम्म करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सकिएको छ ।

पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सम्पन्न भएको छ भने पश्चिम खण्डमा ४० प्रतिशत मात्र प्रगति भएको छ । ठूला पुल निर्माणतर्फ पूर्वी खण्डमा २३ प्रतिशत र पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सुरु भएको यो आयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । करिब ३० करोड अमेरिकी डलर लागत अनुमान गरिएको सडक बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको हुनेछ ।