काठमाडौं – काठमाडौं महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फ रहेको चउरलाई सुधार गर्दै बरमुढा ग्रास रोप्ने भएको छ । खुला स्थानलाई सर्वसाधारणका लागि अझ व्यवस्थित, सफा र प्रयोगमैत्री बनाउने उद्देश्यले महानगरले करिब रु दुई करोड ७० लाख खर्चेर उक्त योजना कार्यान्वयन गर्न लागेको हो ।
हाल उक्त चउर युवाहरू र बालबालिकाका लागि खेलकुद गतिविधि सञ्चालन गर्ने तथा ज्येष्ठ नागरिकहरूका लागि आराम गर्ने, घाम ताप्ने स्थानका रूपमा प्रयोग हुँदै आएको छ । साथै, समय–समयमा सार्वजनिक कार्यक्रमसमेत आयोजना हुने गरेको छ ।
तर, खुला चउर भएकाले सुख्खा मौसममा धुलो उड्ने र वर्षायाममा हिलो हुने समस्याले सर्वसाधारणलाई असहज हुँदै आएको थियो । यही समस्यालाई समाधान गर्दै चउरलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले बरमुढा ग्रास रोप्ने योजना अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।
ग्रास रोपिएपछि वातावरणीय सौन्दर्य बढ्नुका साथै सर्वसाधारणको दैनिक उपयोग सहज हुने अपेक्षा गरिएको छ । महानगरपालिकाले खुला सार्वजनिक स्थानहरूको संरक्षण र व्यवस्थित प्रयोगलाई प्राथमिकतामा राख्दै यस्ता सुधारका कामलाई निरन्तरता दिने जनाएको छ ।



