देशभर आज सहिद दिवस मनाइँदै

काठमाडौँ — देश र जनताको हितका लागि जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै आज देशभर सहिद दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि योगदान पु-याएका धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै विविध कार्यक्रम आयोजना गरिएका छन् ।

राणा शासनविरुद्ध आवाज उठाएकै कारण ती चार सहिदलाई १९९७ सालमा तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। सहिदहरूको बलिदानबाट प्रेरित आन्दोलनले जहानियाँ राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्र स्थापना भएको इतिहास छ ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवसको अवसरमा माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहका रूपमा विभिन्न कार्यक्रम हुँदै आएका छन्। विसं २०१२ सालदेखि नै काठमाडौँ नगरपालिकाको संयोजकत्वमा सहिद दिवस मनाउन थालिएको हो ।