मुस्ताङ — मङ्गलबार राति परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हुने आयात–निर्यात बुधबारदेखि पूर्ण रूपमा ठप्प भएको छ । जोमसोम–कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध हुँदा भन्सार कार्यालयको नियमित कामकाजसमेत प्रभावित भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
हिमपातका कारण चीनतर्फ जान लागेका र उताबाट आएका एक दर्जनभन्दा बढी कन्टेनर बाटोमै रोकिएका छन्। कोरलानाकास्थित चिनियाँ भन्सारमा रहेका केही कन्टेनर पनि उतै थन्किएका छन् ।
सडकको करिब ९० किलोमिटर खण्डमा बाक्लो हिउँ जमेकाले सडक सञ्चालनमा ल्याउन केही दिन लाग्ने अनुमान गरिएको छ । कालीगण्डकी करिडोर आयोजनाले आजदेखि आवश्यक उपकरण प्रयोग गरी सडकको हिउँ पन्छाउने काम सुरु गर्ने जनाएको छ ।
हिमपातपछि चिसो अत्यधिक बढ्दा जनजीवन कष्टकर बनेको छ । माथिल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीसम्म झरेको छ, जसका कारण स्थानीय व्यापारी, पशुचौपाया र गोठालालाई समेत समस्या परेको छ ।



