नवलपुर – सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ वटा पुलबाट सवारीसाधन सञ्चालन भइसकेको नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ ।
योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै पूर्वी खण्डमा निर्माण गर्नुपर्ने सबै पुलको संरचनागत काम पूरा भएको हो । यस खण्डमा २५ मिटर लम्बाइसम्मका २२ वटा साना पुल र २५ मिटरभन्दा लामो १२ वटा ठूला पुल निर्माण गर्नुपर्ने गरी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले ठेक्का पाएको थियो ।
साना पुलहरू निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका भए पनि ठूला पुल निर्माणकै क्रममा भएकाले सबै पुलबाट तत्काल यातायात सञ्चालन हुन सकेको छैन । “गत साता चोरमारा बजारको गिरुबारी खोला पुल सञ्चालनमा आएसँगै हाल ३३ वटा पुलबाट यातायात सञ्चालन भइरहेको छ,” इन्जिनियर खनालले भन्नुभयो, “यातायात सञ्चालन हुन बाँकी रहेको अरुण खोला पुलबाट पनि फागुन २१ गतेको निर्वाचनअघि नै सवारी सञ्चालन गर्ने गरी फिनिसिङ तथा एप्रोच रोड निर्माणको कामलाई तीव्रता दिएका छौँ ।”
उनका अनुसार पूर्वी खण्डमा सडक विस्तारको काम पनि तीव्रगतिमा अगाडि बढाइएको छ । दाउन्ने क्षेत्रमा भौगोलिक बनावट कठिन भएकाले केही कल्भर्ट निर्माणको काम बाँकी रहेको र ती कामहरू अन्तिम चरणमा पुगेका छन् । नारायणघाटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमध्ये दाउन्नेबाहेकका प्रायः सबै स्थानमा कालोपत्र सडकबाट यात्रा गर्न सकिने अवस्था रहेको खनालले जानकारी दिए ।
“दाउन्नेमा कठिन भू–बनावटका कारण सडक कालोपत्र नगरी ढलान गरेर विस्तारको काम भइरहेको छ,” उनले भने, “यसैले सो क्षेत्रमा सडक विस्तारको काम केही ढिलो भइरहेको हो ।” दाउन्ने क्षेत्रमा अझै ढलानको काम बाँकी रहेकाले यात्रा पूर्ण रूपमा सहज हुन नसकेको उनको भनाइ छ ।
योजनाअनुसार पूर्वी खण्डको हालसम्मको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । दाउन्ने सडकखण्ड, अरुणखोलाको केही भाग र दुम्कीबासको केही भागबाहेक अन्य स्थानमा दुईतर्फी कालोपत्र सम्पन्न भइसकेको छ । दुईतर्फी कालोपत्र सकिएका स्थानमा लेन मार्किङ तथा सर्भिस लेन निर्माणको कामसमेत भइरहेको छ ।
दाउन्नेको १४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा चार किलोमिटर सडक पर्दछ । यस क्षेत्रमा डाँडा काट्ने, बाँकी कल्भर्ट निर्माण, सडक चौडाइ बढाउने र पहिरोको जोखिम भएका स्थानमा जालीमा ढुङ्गा भर्ने काम भइरहेको छ। यस खण्डमा कुल २१५ वटा कल्भर्ट निर्माण गरिने योजना रहेको छ ।
नारायणघाट–बुटवल सडक विस्तारका लागि नेपाल सरकारले चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडसँग विसं २०७९ माघ २४ गते सम्झौता गरेको थियो । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी गरिएको सम्झौताअनुसार काम अपेक्षित गतिमा अघि नबढेपछि निर्माण अवधि चार पटक थप गरिएको छ। पछिल्लोपटक आगामी साउन ८ गतेभित्र काम सम्पन्न गर्ने गरी अन्तिम म्याद थप गरिएको छ ।
११४ किलोमिटर लामो नारायणघाट–बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का दिइएको छ । दुवै खण्डको जिम्मा एउटै चिनियाँ कम्पनीले पाएको छ । करिब १७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एसियाली विकास बैंक (एडीबी)को ८५ प्रतिशत ऋण सहयोग रहेको छ ।



