काठमाडौँ, – देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ ।
वन तथा वातावरण मन्त्रालयको आग्रहअनुसार सङ्घीय मामिलाले स्थानीय तहहरूलाई वातावरण निरीक्षकसम्बन्धी आवश्यक जानकारी पठाउन अनुरोध गरेको हो । मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा हाल कति सङ्ख्यामा वातावरण निरीक्षक कार्यरत छन् भन्ने विवरणसहित मुलुकका लागि आवश्यक वातावरण निरीक्षकको सङ्ख्या कति हुनुपर्ने हो भन्ने जानकारी उपलब्ध गराइदिन आग्रह गरेको छ ।
साथै उपलब्ध जनशक्तिले वातावरणसम्बन्धी विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकेको अवस्था छ वा छैन भन्ने विषयमा पनि तोकिएको ढाँचाअनुसार विवरण उपलब्ध गराउन प्रदेश तथा स्थानीय तहलाई अनुरोध गरिएको छ ।
वातावरणसँग सम्बन्धित विषयमा आवश्यक सूचना संकलन, नियमन तथा वातावरण संरक्षणका अत्यावश्यक कार्यका लागि वातावरण निरीक्षकको व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्रालयले हालको जनशक्तिले तोकिएको काम पूरा गर्न सम्भव छ कि छैन, थप पदपूर्ति गर्नुपर्ने सङ्ख्या कति हो लगायतका विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको मागअनुसार उक्त विवरण संकलन प्रक्रिया अघि बढाइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।



