काठमाडौँ, – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थप नौ जनासँग स्पष्टीकरण सोधेको छ । शनिबारसम्म २१ जनासँग स्पष्टीकरण माग गरिसकेको आयोगले आइतबार र सोमबार गरी थप नौ जनालाई स्पष्टिकरण सोधेको हो ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोड्दै बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमै पुगेर अपमानजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो ।
उजुरीअनुसार थापाले सामाजिक सञ्जालमा समेत आपत्तिजनक सामग्री पोष्ट गरेको उल्लेख छ । ‘तपाईंले बाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँका सम्बन्धमा अपमानजनक, धम्कीपूर्ण तथा अपशब्दयुक्त अभिव्यक्ति दिनुभएको हो वा होइन ? उजुरीमा उल्लेख भएअनुसार आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ को पालना गर्नुभएको छ वा छैन ?’ भनी उम्मेदवार थापासँग स्पष्टीकरण माग गरिएको प्रवक्ता जिसीले जानकारी दिनुभयो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च) तथा दफा २५ को उपदफा (१) का खण्ड (च) र (ज) बमोजिम थापालाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको छ । यस्तै, उम्मेदवार लक्षित भ्रामक तथा अमर्यादित सन्देश प्रकाशन तथा प्रसारण गर्ने विभिन्न व्यक्ति र सञ्चारमाध्यमका विषयमा आयोगले प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि पत्राचार गरेको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहलाई आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
निर्वाचन प्रचारप्रसारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कस्तो अवस्था थियो भन्ने विषयमा स्पष्ट पार्न तीन दिनभित्र जवाफ दिन आयोगले निर्देशन दिएको छ ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आचारसंहिताविपरीत प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर दलको निर्वाचन चिह्न पेन्ट गरेको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको छ । सोही विषयमा सो क्षेत्रका उम्मेदवार माधव सापकोटासँग पनि स्पष्टीकरण माग गरिएको छ ।
यसैगरी रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार हालसम्म सोधिएका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको छ ।



