भोजपुर – सिँचाइ सुविधा विस्तार भएसँगै पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । सिँचाइ पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारले नियमित सिँचाइ सुविधा पाएपछि यहाँका किसानले नगदेबाली उत्पादनलाई प्राथमिकता दिन थालेका हुन् ।
स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा विस्तारसँगै करिब तीन रोपनी जमिनमा व्यावसायिक तरकारीखेती सुरु गरेको जानकारी दिए । उनका अनुसार बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनिया, आलु, तोरीलगायत विभिन्न नगदेबाली उत्पादन हुँदै आएका छन् ।
“पहिले पानीको ठूलो समस्या थियो, खेती गर्न निकै गाह्रो हुन्थ्यो,” किसान कार्कीले भन्यो, “पोखरी निर्माणपछि सिँचाइ सहज भएको छ । अहिले तरकारीखेतीमा सक्रिय भएका छौँ ।”
गाउँपालिकाले सञ्चालन गरेका प्राविधिक सेवा तथा विभिन्न अनुदान कार्यक्रमले व्यावसायिक तरकारीखेतीलाई थप प्रोत्साहन मिलेको किसानको भनाइ छ । सिँचाइ पोखरीमार्फत पानी वितरण हुन थालेपछि वर्षौँदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान भएको स्थानीयको अनुभव छ । हाल टोलमा तीनवटा ठूला सिँचाइ पोखरीमार्फत पानी वितरण भइरहेको छ ।
पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईका अनुसार प्रदेश सरकारबाट क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा सिँचाइ पोखरी निर्माण गरी पानी वितरणको व्यवस्था गरिएको हो । “सिँचाइ अभावले यस क्षेत्रका किसान समस्यामा थिए,” उनले भने, “तरकारी खेतीका लागि उपयुक्त भूगोल भएकाले अब किसानले सहज रूपमा उत्पादन गर्न सक्ने अवस्था बनेको छ ।”
सिँचाइ सुविधा विस्तारसँगै स्थानीय किसान व्यावसायिक रूपमा नगदेबाली खेतीतर्फ जोडिन थालेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । उनका अनुसार सिँचाइ विस्तारले किसानको आयआर्जन बढाउने वातावरण सिर्जना गरेको छ । सडक सञ्जालको राम्रो पहुँच रहेकाले यहाँ उत्पादित तरकारीको बजारीकरणमा समेत सहजता भएको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष किरण राईले कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारलाई गाउँपालिकाको प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए । किसानलाई व्यावसायिक बनाउन आवश्यक अनुदान तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए ।
अध्यक्ष राईका अनुसार कृषि उत्पादनबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित ‘एक घर, एक टनेल’ कार्यक्रमसँगै सिँचाइ पोखरी निर्माणलाई अघि बढाइएको छ । भूगोल र माटोअनुकूल जैविक खेतीमा जोड दिँदै उत्पादित कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ ।



