काठमाडौं – काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा ‘भीआइपी लिफ्ट’ भनेर चिनिने लिफ्ट अब सर्वसाधारण सेवाग्राहीले पनि प्रयोग गर्न पाउने भएका छन् । यसअघि पासवर्डका कारण सीमित व्यक्तिले मात्र प्रयोग गर्न पाउने उक्त लिफ्टको पासवर्ड हटाएर सेवाग्राहीलाई समेत प्रयोग गर्न मिल्ने बनाइएको हो ।
महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले का अनुसार कार्यवाहक मेयर सुनिता डंगोल को निर्देशनमा लिफ्ट सबैका लागि खुला गरिएको हो । “गत माघ ६ गते नै लिफ्टमा राखिएको पासवर्ड हटाइएको हो,” काफ्लेले जानकारी दिए ।
महानगरमा मेयर बालेन साहले माघ ४ गते राजीनामा दिएर चुनावमा उम्मेदवार बनेपछि डंगोल कार्यवाहक मेयरको भूमिकामा हुनुहुन्छ ।
काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा हाल तीन वटा लिफ्ट सञ्चालनमा छन् । तीमध्ये ‘भीआइपी लिफ्ट’ भनेर चिनिने लिफ्ट भने २०८१ साल साउनमा तयार भएको हो । सुरुमा यो लिफ्ट सर्वसाधारणका लागि खुला थिएन ।
महानगर स्रोतका अनुसार उक्त लिफ्टको पासवर्ड मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लाई मात्र उपलब्ध थियो । त्यसैले सेवाग्राही तथा कर्मचारीसमेतलाई लिफ्ट प्रयोगमा प्रतिबन्धजस्तै थियो ।
महानगरपालिकाका कार्यालय भवन दुईवटा छन ्। यी दुई भवनलाई जोडेर एउटै संरचना बनाइए पनि आधा भागमा मेयर–उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वातावरण विभाग लगायतका प्रमुख निकाय राखिएको छ। अर्को भागमा भने विभिन्न विभाग, शाखा र महाशाखाका कार्यकक्ष छन् ।
मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको भवन ६ तले छ। महानगरभित्र सेवाग्राही सबैभन्दा बढी भेटघाटका लागि यही कार्यालयतर्फ पुग्ने भएकाले सहज पहुँच अत्यन्त महत्वपूर्ण मानिन्छ ।
महानगरका अनुसार उपमेयर सुनिता डंगोल को कार्यकक्ष तेस्रो तल्लामा, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं को कार्यकक्ष चौथो तल्लामा, मेयर बालेन साह को कार्यकक्ष पाँचौं तल्लामा रहेको छ ।
यी कार्यालयसम्म पुग्न सेवाग्राहीले भ¥याङ वा लिफ्ट प्रयोग गर्न सक्ने विकल्प भए पनि नयाँ बनेको लिफ्ट सर्वसाधारणका लागि बन्द हुँदा धेरैले अनावश्यक सास्ती भोग्नु परेको गुनासो थियो ।
भवनको भ¥याङ नजिकै रहेको पुरानो लिफ्ट धेरै सेवाग्राहीले सजिलै देख्ने भए पनि नयाँ ‘भीआइपी लिफ्ट’ चाहिँ देख्न नसक्ने वा जानकारी नहुने सेवाग्राही हिँडेरै तल्ला चढ्ने अवस्था थियो। केही सेवाग्राही नयाँ लिफ्ट प्रयोग गर्न खोज्दा भने पासवर्ड नभएकै कारण फर्किनुपथ्र्यो ।
यसअघि उक्त लिफ्ट प्रायः सधैं ‘लक’ अवस्थामा रहने गरेको बताइन्छ। त्यसकारण विशेषगरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बिरामी तथा लामो समय लाइन बस्ने सेवाग्राही का लागि यो व्यवस्था आलोचनाको विषय बनेको थियो ।
लिफ्ट सबैका लागि खुला गर्ने निर्णयलाई महानगरभित्र सेवाग्राहीमैत्री सेवा को सन्देशका रूपमा हेरिएको छ। अब कार्यालयमा आउने सेवाग्राहीले जनप्रतिनिधि वा प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न जाँदा सहज रूपमा लिफ्ट प्रयोग गर्न पाउनेछन्।



