आयोगलाई महानगरको जवाफ : ज्येष्ठलाई घरमै स्वास्थ्य सेवा’ वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम हो

काठमाडौं – काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछि महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा दिन सुरु गरेको विषयमा आयोगले स्पष्टीकरण पत्र काटेको थियो ।

उक्त विषयमा जवाफ पठाउँदै महानगरले उक्त कार्यक्रम वार्षिक बजेटबाट स्वीकृत भएकाले आचारसंहिताविपरीत नभएको स्पष्ट पारेको छ ।

महानगरले पठाएको जवाफमा भनिएको छ, “यस महानगरपालिका नगरसभाको १७ औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको क्रमसंख्या ७७१ मा ७० वर्ष माथिको ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रम स्वीकृत भएको व्यहोरा अनुरोध छ ।”

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएबाहेक अन्य नयाँ कार्यक्रम घोषणा/स्वीकृत/सञ्चालन गर्न नहुने व्यवस्था रहेको उल्लेख छ । तर सरुवा रोगको महामारी वा नियन्त्रणबाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिएर त्यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने प्रावधान पनि रहेको छ ।

महानगरले भने यो कार्यक्रम पहिल्यै वार्षिक बजेटमा स्वीकृत भएकाले निर्वाचन आचारसंहिताअनुकूल नै अघि बढाइएको दाबी गर्दै आयोगलाई जवाफ पठाएको हो ।