किन अटाएनन् सन्दीप प्रारम्भिक टिममा ?

काठमाडौं, माघ १३ गते । नेपाल क्रिकेट संघ क्यानले पूर्व कप्तान सन्दीप लामिछाने अझै निलम्बनमा रहेका कारण प्रारम्भिक टिममा नपरेको स्पष्ट पारेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि क्यानले बोलाएका २८ जना खेलाडीको सूचिमा लामिछानेको नाम अटाएन ।

क्यानका सचिव प्रशान्त विक्रम मल्लले लामिछाने हालसम्म पनि क्यानको निलम्बनमा नै रहेका कारण उहाँको नाम प्रारम्भिक टोलीमा नराखेको बताउनुभयो । उहाँले भन्नुभयो, सन्दीप जेल मुक्त भए पनि हालसम्म उहाँ एक निलम्बित खेलाडी हुनुहुन्छ ।

उहाँको बारेमा हामीले सरकारी वकिलको कार्यलय राष्ट्रिय खेलकुद परिषद (राखेप) तथा महान्याधिवक्ताको कार्यलयमा राय सुझावको लागि पत्र पठाएका छौं । उताबाट आउने जवाफको पर्खाइमा छौं’, मल्लले भन्नुभयो, ।

सचिव मल्लका अनुसार १७ गते बस्ने क्यानको बोर्ड बैठकले सन्दीपको बारेमा निर्णय गर्नेछ । मल्लले भन्नुभयो, ‘उहाँले राष्ट्रिय टिमबाट खेल्न मिल्ने भन्ने निष्कर्ष सरकारी वकिल तथा राखेपबाट आएमा उनलाई प्रशिक्षणमा बोलाउँछौं ।’

उहाँका अनुसार राष्ट्रिय खेलकुद परिषदबाट कस्तो खालको राय सुझाव आउँछ सोही अनुसार बोर्ड बैठकले सन्दीपको बारेमा निर्णय गर्ने बताउनुभयो । भने ‘राखेपको सुझाव सकरात्मक आएको खण्डमा उनलाई निलम्बन फुकुवा गरि बन्द प्रशिक्षणमा बोलाउँछौं ।’