काठमाडौं – काठमाडौं महानगरपालिकाले धोबीखोला र विष्णुमति नदीमा ‘ट्र्यास बिन’ राख्ने काम सुरु गरेको छ । नदीमा बगेर आउने ठोस फोहोर संकलन र व्यवस्थापन गर्ने उद्देश्यले महानगरले माघ महिनादेखि विभिन्न स्थानमा ट्र्यास बिन जडान गरिरहेको जनाएको छ ।
महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार धोबीखोला र विष्णुमतिका ११ स्थानमा ट्र्यास बिन राख्ने काम भइरहेको छ ।
उनले भनिन्, “खोलाको सतहमा आउने फोहोरका लागि ट्र्यास बिन राखेका हौँ । यसले बगेर आउने ठोस फोहोरहरूलाई रोक्छ ।”
ट्र्यास बिनमा जम्मा हुने फोहोरको संकलन तथा व्यवस्थापन महानगरपालिकाले नै गर्ने राईले जानकारी दिइन् ।
महानगरले टुकुचा खोलामा पनि ट्र्यास बिन राख्ने योजना बनाएको छ । उनका अनुसार चालु आर्थिक वर्षमा खोला सरसफाइका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोही बजेटअन्तर्गत यो कार्यक्रम कार्यान्वयन भइरहेको हो ।
उता बागमती नदीमा भने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ट्र्यास बिन राख्ने काम गरिरहेको राईले बताइन् ।



