काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तार कार्य नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि पुनः अघि बढेको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सी–एन–ए–वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । सम्झौताअनुसार पहिलो चरणमा आगामी चैतभित्र फराकिलो स्थानमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार हाल विभिन्न स्थानमा कटिङ, साना संरचना तथा टेवा पर्खाल निर्माणको काम तीव्र रूपमा भइरहेको छ ।
‘चिसो मौसमका कारण हाल सतहको काम रोकिएको छ,’ उनले भने, ‘चिसो कम हुनेबित्तिकै सतहको काम गरी चैतभित्र कालोपत्र सक्ने योजना छ ।’
कालोपत्र सम्पन्न भएपछि सडकको स्लोप मर्मत, पहिरो व्यवस्थापन र अन्य सानातिना काम गरिनेछ । स्तरोन्नतिपछि उक्त सडक सात मिटर चौडाइको हुने जनाइएको छ । पहिरो नियन्त्रणका लागि नयाँ प्रविधि प्रयोग गर्ने तयारी पनि गरिएको छ ।
यसअघि निर्माण कार्यमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि यात्रुहरूले धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिम खेप्दै आएका थिए । पुरानो ठेकेदार गौरी–पार्वती निर्माण सेवाले समयमै काम नगरेपछि कार्यालयले सम्झौताको ११ महिना पछि ठेक्का रद्द गरेको थियो ।
चार किलोमिटर लामो उक्त सडकखण्डलाई नयाँ निर्माण कम्पनीले निर्धारित समयमा सम्पन्न गर्नेमा आशावादी रहेको कार्यालयले जनाएको छ । अरनिको राजमार्ग हुँदै तातोपानी नाका तथा दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडक भएकाले समयमै निर्माण सम्पन्न हुनु अत्यन्तै महत्त्वपूर्ण रहेको छ ।
यस सडकखण्डमा मालवाहक सवारीसाधनको भारवहन क्षमता बढाउन ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित बेस तथा दुई तहको कालोपत्र (डिबिएम र आस्फाल्ट) प्रयोग गरिने कार्यालयले जनाएको छ ।


