काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकको यथार्थ विवरण माग गरेको छ ।
मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाले सार्वजनिक सूचना जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहबाट आवश्यक विवरण संकलन गर्न समन्वयका लागि पत्राचार गरेको हो ।
मन्त्रालयले साविकको ‘एक गाउँ विकास समिति, एक प्राविधिक’ कार्यक्रम तथा हाल कार्यान्वयनमा रहेको ‘स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०८२’ अनुसार कार्यरत कर्मचारीहरूको तथ्यांक अद्यावधिक गर्न लागेको जनाएको छ ।
यस क्रममा साविकका गाउँ विकास समितिहरूमा राजपत्र अनंकित द्वितीय श्रेणीको प्राविधिक सहायक पदमा करारमा नियुक्त भई हाल स्थानीय तहमा समायोजन भई सेवा निरन्तरता दिइरहेका कर्मचारीहरूको विवरण अनिवार्य रूपमा माग गरिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यविधि अनुसार ससर्त हस्तान्तरित कार्यक्रमअन्तर्गत स्थानीय तहमा करारमा नियुक्त कृषि स्नातक तथा पशु चिकित्सकहरूको विस्तृत विवरण पनि उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
सूचनाअनुसार सम्बन्धित विवरणहरू आगामी फागुन १० गतेभित्र मन्त्रालयको आधिकारिक इमेल ठेगानामा पठाइसक्नुपर्नेछ । विवरणमा कर्मचारीको नाम, श्रेणी, सेवा समूह, सम्पर्क ठेगानासहित नियुक्ति पत्र र पछिल्लो करार सम्झौता नवीकरणको छायाप्रति अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्थानीय तहमा कार्यरत प्राविधिक जनशक्तिको वास्तविक अवस्था पहिचान गरी आगामी नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले विवरण संकलन प्रक्रिया अघि बढाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । यो निर्णय मन्त्रालयले माघ २२ गतेको सचिवस्तरीय निर्णय अनुसार गरेको हो ।



