आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु, कक्षा ६ का किशोरी लक्षित

काठमाडौं – सरकारले आजदेखि देशभर कक्षा ६ मा अध्ययनरत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।

अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ। यस्तै, गत वर्ष छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका किशोरीलाई पनि सोही अभियानमार्फत खोप दिइने शाखाले जनाएको छ । हिमाली तथा हिमपात हुने जिल्लामा भने अभियान चैत महिनामा सञ्चालन गरिनेछ ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण भएकाले त्यसविरुद्ध एचपिभी खोप प्रभावकारी मानिन्छ । विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमै र अन्य किशोरीलाई तोकिएका खोप केन्द्रबाट खोप लगाइने व्यवस्था गरिएको छ ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतमले खोप सुरक्षित र प्रभावकारी भएकाले सबैलाई अभियानमा सहभागी हुन आग्रह गरे । नेपालमा हरेक दिन औसत छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र चार जनाको मृत्यु हुने तथ्याङ्क रहेको उनले जानकारी दिए ।

गत वर्ष सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा देशभरका करिब १७ लाख किशोरीलाई एचपिभी खोप लगाइएको थियो। यस वर्षको अभियानमा करिब तीन लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको शाखाले जनाएको छ ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरका कारण हुने महिलाको मृत्युमध्ये यो पहिलो स्थानमा रहेको छ ।