काठमाडौँ – राजधानी उपत्यकाभित्रै परे पनि विकासका दृष्टिले पछि परेको क्षेत्रका रूपमा चिनिने काठमाडौँ निर्वाचन क्षेत्र नं १० यसपटकको प्रतिनिधिसभा निर्वाचनमा स्थानीय उम्मेदवारको बहसले चर्चामा छ । काठमाडौँ महानगरपालिकाले नछुने एक मात्र निर्वाचन क्षेत्र समेत रहेको यो क्षेत्रमा स्थानीय एजेन्डा बोकेर स्थानीय नेताहरु नै चुनावी मैदानमा उत्रिएका छन् ।
अघिल्ला निर्वाचनहरूमा प्रायः सबै राजनीतिक दलले केन्द्रीय नेताहरुलाई उम्मेदवार बनाउँदै आएको यस क्षेत्रको प्रचलन यसपटक तोडिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत अधिकांश दलले स्थानीय पृष्ठभूमिका नेताहरुलाई उम्मेदवार बनाएका छन् ।
नेपाली कांग्रेसबाट कीर्तिपुर नगरपालिका–५ का स्थानीय नेता हिमाल कार्की, एमालेबाट चन्द्रागिरि–इमाखेलका मजदुर आन्दोलनका अगुवा विनोद श्रेष्ठ, रास्वपाबाट कीर्तिपुर–४ का प्रदीप विष्ट, राप्रपाबाट दक्षिणकालीका बलराम थापा तथा नेपाली कम्युनिष्ट पार्टीबाट कीर्तिपुर र चन्द्रागिरिसँग जोडिएकी रूपा महर्जन उम्मेदवार हुन् । विनोद श्रेष्ठ र रूपा महर्जन यसअघि संविधानसभामा समानुपातिक सदस्य भइसकेका छन् ।
राजनीतिक आन्दोलनमा ऐतिहासिक योगदान रहेको यो क्षेत्रको केन्द्रीय राजनीतिक पहुँच भने कमजोर रहँदै आएको स्थानीय नेताहरुको बुझाइ छ । यस क्षेत्रबाट विगतमा तीनपटक प्रतिनिधिसभा सदस्य निर्वाचित राजेन्द्रकुमार केसी यसपटक उम्मेदवार बनेका छैनन् । उनी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् ।
कीर्तिपुरमा करिब चार दशकदेखि राजनीतिशास्त्र अध्यापन गरिरहनुभएका प्राध्यापक डा. प्रेमनारायण अर्याल स्थानीय उम्मेदवारप्रतिको आकर्षणलाई मतदातासँग प्रत्यक्ष पहुँच र अन्तरक्रिया सहज हुने कारणसँग जाडिए ।
“केन्द्रीय नेताभन्दा स्थानीय उम्मेदवार जनतासँग नजिक हुने भएकाले सबै दलमा स्थानीयलाई अघि सार्ने दबाब बढेको देखिन्छ,” उनले भने, ।
भूगोल र जनसङ्ख्याका हिसाबले काठमाडौँकै सबैभन्दा ठूलो निर्वाचन क्षेत्र मानिने क्षेत्र नं १० मा ८३ हजार ३०१ मतदाता रहेका छन् । यहाँ ९८ मतदान केन्द्र छन् । कुल मतदातामध्ये ५१.२८ प्रतिशत महिला भए पनि महिला उम्मेदवारको सङ्ख्या भने पाँच जनामा सीमित छ ।
अन्य उम्मेदवारमा राप्रपाका बलराम थापा, नेमकिपाबाट विन्द्रा महर्जन, राष्ट्रिय जनमोर्चाबाट अम्बरबहादुर पौडेल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट केशवराज अर्याल, श्रम संस्कृति पार्टीका धनबहादुर श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका भागरित साह र उज्यालो नेपाल पार्टीका राकेश न्यौपाने रहेका छन् । स्वतन्त्रतर्फ पनि अधिकांश स्थानीय पृष्ठभूमिका १० भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
इतिहासमा यस क्षेत्रबाट तत्कालीन एमाले महासचिव मदन भण्डारी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भइसकेका छन् । संविधानसभापछिका तीनवटै आमनिर्वाचनमा भने नेपाली कांग्रेसले यहाँ विजय हासिल गर्दै आएको छ ।
स्थानीय उम्मेदवारको बाहुल्यतासँगै यसपटकको चुनावी बहस पनि स्थानीय विकास, प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षण, पूर्वाधार विस्तार र श्रमजीवी वर्गको सामाजिक सुरक्षा जस्ता मुद्दामा केन्द्रित देखिन्छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले १४ हजार ४६३ मतसहित विजय हासिल गरेका दिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेश केसीले ११ हजार ७९१ मत प्राप्त गरेका दिए ।



