काठमाडौं महानगरले सुरु गर्‍यो एचपीभीविरुद्धको खोप लगाउने अभियान

काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरूलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्ध खोप लगाउने अभियान सुरु गरेको छ ।

मंगलबार काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले पद्यमकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारबाट विद्यालय–केन्द्रित नियमित एचपीभी खोप अभियानको औपचारिक उद्घाटन गरेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यसअघि एचपीभी खोपका लागि शुल्क तिर्नुपर्ने अवस्था रहेको स्मरण गराउँदै अहिले विद्यालयमै निःशुल्क खोप उपलब्ध गराइँदै आएको बताइन् ।

‘अघिल्लो वर्षदेखि नै यो कार्यक्रम सुरु गरेका थियौँ । पहिले यो खोप पैसा तिरेर लिनुपथ्र्यो, अहिले भने विद्यालयमै निःशुल्क खोप लगाउने व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘यस कार्यक्रमबाट धेरैभन्दा धेरै बहिनीहरूले लाभ लिन सकून् भन्ने हाम्रो चाहना हो ।’

डंगोलले स्थानीय सरकारको सहकार्यमा देशभर नै एचपीभी खोप अभियान सञ्चालन भइरहेको जानकारी दिँदै आज विभिन्न स्थानमा उत्साहका साथ खोप कार्यक्रम भइरहेको उल्लेख गरिन्। ‘आज देशभर विभिन्न ठाउँमा, विशेषगरी स्थानीय सरकारको सहकार्यमा एचपीभी खोप अभियान सञ्चालन भइरहेको छ। आज हामीले यहाँ पनि सोही कार्यक्रम सञ्चालन गरेका छौँ,’ उनले भनिन् ।