काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन मातहतका सबै निकायलाई निर्देशन दिएकी छन्।
मंगलबार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माध्यमिक विद्यालयमा आयोजित एचपीभी खोप अभियानको उद्घाटन कार्यक्रममा बोल्दै उनले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभागसहित सम्बन्धित सबै पक्षलाई अभियान सफलतापूर्वक सम्पन्न गर्न सचेत र जिम्मेवार हुन आग्रह गरिन्।
कार्यवाहक प्रमुख डंगोलले सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधका लागि एचपीभी खोप निःशुल्क उपलब्ध गराएको उल्लेख गर्दै लक्षित समूहले खोप लिनुपर्नेमा जोड दिइन् । साथै, खोप कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताइन्।
उनले काठमाडौं महानगरपालिका भित्रका सबै विद्यालयमा विद्यालय–केन्द्रित एचपीभी खोप अभियान सञ्चालन भइरहेको जानकारी दिँदै किशोरीहरूलाई यसबाट अधिकतम लाभ लिन आग्रह गरिन्।
‘अघिल्लो वर्षदेखि नै हामीले यो कार्यक्रम सुरु गरेका थियौँ। पहिले यो खोप लिनका लागि शुल्क तिर्नुपर्ने अवस्था थियो भने अहिले विद्यालय–विद्यालयमै निःशुल्क खोप कार्यक्रम सञ्चालन भइरहेको छ,’ डंगोलले भनिन्, ‘महानगरभरीका सबै विद्यालयमा यो कार्यक्रम लागू भइरहेको छ। यसबाट धेरैभन्दा धेरै बहिनीहरूले लाभ लिन सकून् भन्ने हाम्रो चाहना हो र कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाइदिन अनुरोध गर्दछु।’
सरकारले पाठेघरको मुखको क्यान्सरका कारण बढ्दो मृत्यु दरलाई मध्यनजर गर्दै त्यसको प्रतिरोधका लागि एचपीभी खोप निःशुल्क रूपमा अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ।
यस अभियानबाट लाभ लिन काठमाडौं महानगरपालिकाले विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबै पक्षमा अनुरोध गरेको छ।



