सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ, मुआब्जा दिन कुनै प्रोसेस गरेन: बालेन

काठमाडौँ — काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५०औँ वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए।

Laxmi sunrise bank 2034

उनले भने,‘५० औँ वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन। उहाँहरू मुआब्जा पाउनुभएको छैन। कहिले कुन सरकार हुँदाखेरि अपाेजिसनले मान्छ कि मान्दैन मुआब्जा दिन भनिन्थ्याे। कहिले अर्का सरकार हुँदाखेरि अरू बहुमत हुनेले मान्छ कि मान्दैन भन्ने हुन्थ्याे।  यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ। त्यही पनि केही गरेको छैन। कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ, काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला। कुनै प्रोसेस भएको छैन। केही काम भएको छैन।’

उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै यसको मुआब्जा दिन कुनै पनि प्रक्रिया अघि नबढाएको बताए।

साथै उनले अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने दाबी गरे।

उनले भने, ‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ। यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन। अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ। गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ। अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन।’