काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित गोदावरी नगरपालिकामा कार्यरत करार इन्जिनियर सुवास विष्टविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार इन्जिनियर विष्टले पदीय मर्यादा विपरीत भ्रष्टाचार गरी १ करोड ९७ लाख रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको ठहर गरिएको छ ।
आयोगले गरेको अनुसन्धानमा विष्टले सेवा प्रवेश गरेको मिति २०७६ फागुन १ देखि २०८१ साउन १४ गतेसम्म को अवधिमा आफ्नो वैध आम्दानीको अनुपातमा अत्यधिक खर्च र लगानी गरेको पाइएको छ । अनुसन्धानअनुसार उक्त अवधिमा विष्टको कुल वैध आय १ करोड २७ लाख ७४ हजार ६७३ रुपैयाँ २९ पैसा रहेको देखिन्छ। तर, सोही अवधिमा उनले घर–जग्गा खरिद, सेयर लगानी, छोराको अध्ययन खर्च, बैंक मौज्दातलगायत शीर्षकमा ३ करोड २४ लाख ८४ हजार ८३० रुपैयाँ ९२ पैसा खर्च तथा लगानी गरेको भेटिएको छ ।
यसरी वैध आय र कुल खर्चबीच १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा बराबरको रकमको स्रोत खुल्न नसकेको अख्तियारले जनाएको छ। अनुसन्धानबाट विष्टले अमिल्दो र अस्वाभाविक उच्च जीवनशैली अपनाएको तथा प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरणमा समेत वास्तविक तथ्य लुकाएको पाइएको छ।
बाबु पनि प्रतिवादी
अख्तियारले इन्जिनियर विष्टका बाबु सुदर्शन विष्टलाई समेत प्रतिवादी बनाएको छ। सुवास विष्टले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति बाबुको नाममा राखेको र सो सम्पत्तिको प्रयोग तथा प्रचलनमा बाबुको समेत संलग्नता देखिएकाले सजाय र बिगो जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।
आयोगले सुवास विष्टसँग १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबर जरिवाना मागदाबी गरेको छ। साथै, सम्पत्ति विवरणमा झुट्टा विवरण पेस गरी सम्पत्ति लुकाएको ठहर गर्दै ऐनको दफा १६(२) बमोजिम थप सजाय र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न समेत माग गरिएको छ।
करार सेवामा रहँदै छोटो अवधिमै ठूलो मात्रामा अवैध सम्पत्ति जोडिएको यो प्रकरणले स्थानीय तहमा व्याप्त भ्रष्टाचारको गम्भीर अवस्थालाई पुनः उजागर गरेको विश्लेषकहरूको टिप्पणी छ ।



