काठमाडौँ, – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवकले घरघर र बस्तीमा पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया, निर्वाचनको महत्व र मताधिकारबारे जानकारी गराउने कार्यक्रम रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले विगतदेखि प्रत्येक स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई यस पटक मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा जिम्मेवारी दिएको जनाएको छ। मतदाता शिक्षाले निर्वाचनमा सहभागिता बढाउनुका साथै बदर मतको अनुपात घटाउन महत्वपूर्ण योगदान पुग्ने आयोगको विश्वास छ ।
मतदाता शिक्षा अभियान सफल बनाउन आयोगले सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई सहयोगका लागि आग्रह गरेको छ ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु नै यस अभियानको मुख्य उद्देश्य रहेको आयोगले जनाएको छ।



